नेपाली काँग्रेसका हस्ती नेताहरुको वडामा काँग्रेस प्यानलनै पराजित
इटहरी । इटहरीमा नेपाली काँग्रेसका प्रभावशाली हस्ती नेताहरुको बसोवास रहेको वडा नम्बर ४ मा काँग्रेसमा प्यानलनै पराजित भएको छ ।
काँग्रेसका केन्द्रीय स्तरका नेता देखि लिएर स्थानीय स्तरका प्रभावशाली नेताहरुको उपस्थिती रहेको वडा नम्बर ४ मा काँग्रेसको प्यानललाई पराजित गर्दै नेकपा एमाले फराकिलो मतान्तर सहित प्यानल नै विजयी भएको हो । नेकपा एमालेका उम्मेदवार भत्त लामाले २३७२ मत ल्याइ विजय हासिल गरे भने नेपालि कांग्रेका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत ल्याइ पराजित भए ।
एमालेका भक्त लामाले २,३७२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबाबु थापाले २,०४६ मत प्राप्त गरे । यस्तै, महिला सदस्यमा लक्ष्मी चापागाईँ, दलित महिला सदस्यमा दिलु बराइली, खुल्ला सदस्यमा अमृतबहादुर बस्नेत र विश्वेस्वरप्रसाद शर्मा निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निर्वतमान सभापति राजिव ढुंगाना,नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा काँग्रेसका महाधिवेशन प्रतिनिधि विकास केसी, इटहरीका काँग्रेस नेता तथा मेयरका आकाँक्षी समेत रहेका भिम बहादुर पौडेल, युवा नेता सुर्य राई समेतको बसोबास रहेको वडामा काँग्रेसको प्यानल लाई नै हराउदै एमालेले फराकिलो अन्तरमा प्यानल नै जित निकालेको छ ।
यस भन्दा अघिको स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकामा २० वटा वडा मध्ये १२ वटामा जित हासिल गरेको थियो । यस पटक भने काग्रेस इटहरीका वडामा खुम्चने निश्चित भई सकेको छ । हाल सम्म गणना सम्पन्न भएको १५ वटामा वडामा नेकपा एमालेले ११ वटामा विजय हासिल गरिसकेको छ भने नेपाली काँग्रेसले ३ वटा वडा मात्र जितेको छ । त्यसै गरी एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन । मत गणना भई रहेका अन्य वडाहरु मध्ये एउटामा मात्र काँग्रेसको अग्रता रहेको छ । यता काँग्रेसका तर्फबाट मेयरका उमेदवार रहेका हेमकर्ण पौडेलले गणना भई सकेका वडाहरुमा प्राय सवै वडामा एमालेका उमेदवार भन्दा वढी मत ल्याइरहेका छन ।