महोत्तरी । महोत्तरी र धनुषा छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न छ। आइतबार तारा एयरको विमान दुर्घटनामा नाताभित्रकै सात जनाको मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला-११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो।
दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ, दिदी-भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको हो। यसैगरी मकरबहादुरका बहिनी र ज्वाइँ तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि मृत्यु भएपछि यहाँका बस्तीमा रुवाबासी छ।
उनीहरू सातैजना आइतबार मुक्तिक्षेत्र जाँदै थिए। यसपालि तीर्थाटन गर्ने वातावरण बेलायतमा बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका थिए। मनोजले लण्डनबाट फोन गरेर बुबा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन) लाई लिएर तीर्थ जानु। खर्च पठाउँछु भन्नुभएको थियोु,मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजु आउनु भनेपछि बुबाआमा शुक्रबार घरबाट काठमाडौँ जानुभएको थियो।
पोखराबाट उडेको विमान हराएको खबर फैलिएपछि आइतबार दिउँसो नै मकरबहादुरको घरमा इष्टमित्र, आफन्त र छिमेकीको जमघट बढेको थियो। विमान दुर्घटनाको खबरसँगै उनको घरमा आफन्त र छिमेकीको घुइँचो छ। छोरीहरू शान्ति र कान्ति तथा बुहारीहरू प्रेमा, पार्वती र प्रतिष्मा पनि शोकाकुल छन्।
चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहेका मकरबहादुर सेवानिवृत्त भएपछि गाउँमै सामाजिक गतिविधिमा सक्रिय थिए। सोही बस्तीमा बस्ने उनका दिदी भिनाजु भने छोरा राजनका परिवारसँग काठमाडौं नै बस्थे।
मकरबहादुरलाई यहाँका बासिन्दा ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा सम्झना गर्छन्। ‘गत शुक्रबार बिहानपख, हामी तीर्थ गर्न हिँड्यौँ, एक सातामा आउँला, राम्ररी बस है नानी भन्दै जानुभएको थियोु, छिमेकी तुलसा पौडेलले भनिन्, ुकहिल्यै नफर्कनु रहेछ। आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ।
यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई सम्झिएर भक्कानिन्छन्। काठमाडौंमा व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेको यहाँका बासिन्दा सम्झिन्छन्। मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेका थिए।
रासस
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved