काबुल । अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो एक महिनाको अवधिमा दुई हजार जना पक्राउ परेका छन् । प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । राज्य सञ्चालित बख्तर समाचार संस्थाले आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्नेसम्मका ८ सय ५९ मुद्दा दर्ता भएका र करिब २ हजार जना पक्राउ परेको जनाएको छ ।
तर कतिपयले भने तालिवान नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साध्न कतिपयलाई पक्राउ गरिएको दाबी गरेको छ । अफगानिस्तानमा अगस्त १५ मा तालिवान समूहले सत्ताकब्जा गरेपछि सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्ताहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने गरिएको अधिकारकर्मीहरूको भनाइ छ । पक्राउ परेकालाई झूटा मुद्दा लगाइएको र अनावश्यक तनाव दिने गरिएको विपक्षी समूहहरूको दाबी छ ।
तर देशको अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै विभिन्न आपराधिक समूहहरू सक्रिय भएको सरकारी अधिकारीहरूको दाबी छ । प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै अनुसन्धान भइरहेको बताइएको छ । तालिबान सरकारले महिला अधिकारमाथि बन्देज लगाएपछि पश्चिमा देशले कडा आलोचना गर्दै अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा भारी कटौती गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved