काठमाडौं । पोखरामा भइरहेको मेयरहरुको सम्मेलनमा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीबारे अनुभव आदानप्रदान भएको छ ।
साझा अधिकार र साझा समस्याबारे मेयरहरुले छलफल गरी अबको कार्यदिशाबारे एजेण्डा तयार पारेका छन् । सम्मेलनबाट आएको निचोडसहित आज पोखरा घोषणा जारी हुँदैछ । ‘मेट्रो मिट नेपाल’ नाम दिइएको यो सम्मेलनमा महानगरका साझा समस्या र अबका कार्ययोजनाबारे छलफल भएको छ।
सम्मेलनमा मुख्यगरी फोहर व्यवस्थापन, पूर्वाधार तथा विकास निर्माणको व्यवस्थापन र समन्वयबारे छलफल भएको थियो । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाण्डौ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए।
महानगरलाई थप उत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न पनि सम्मेलन फलदायी रहेको उनको भनाइ छ । २ दिनसम्म छलफल र विभिन्न विषयमा विज्ञहरुको प्रस्तुतिपछि मेयर सम्मेलनले पोखरा घोषणापत्र तयार पारेको छ ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवम् क्षेत्रीय योजनाकार डा।जगदिश चन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा मुख्य प्रस्तुति राखेका थिए। सम्मेलनको दोस्रो दिन हिजो पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीबारे प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved