काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छिन् ।
मंगलबार संसद बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानुनमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले यस्तो बताएकी हुन् ।
उनले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताइन् । त्यस्तै दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
सांसद पाण्डेले प्रतिनिधि र प्रदेशसभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्ने बताइन् । त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन् ।
ुप्रतिनिधि र प्रदेशसभाको समानुपातिक तथा पहिलो हुने दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणाली अन्तर्गत निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गरिनुपर्छ । अन्यथा कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैका लागि मतदाता मात्रै बन्नुपर्ने जुन अवस्था छ, यसको अन्त्य जरुरी छ,ु उनले भनिन् । उनले मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन अगावै निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गरेर यी प्रावधान ल्याउन माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved