काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन सहमति भए पनि अन्योल भएको छ ।
काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको हिजोको बैठकले अवरोध हटाएर फोहर फाल्ने सहमति गरेको थियो । सहमति अनुसार काठमाण्डौ महानगरपालिकाले आज बिहानैदेखि फोहरका गाडी बञ्चरेडाँडा पठाउने तयारी गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहमति अनुसार फोहरका गाडी पठाउने बताए । उनका अनुसार आज पनि सुरक्षाकर्मी भने खटिनेछन् ।
महानगरपालिकाले सहमति अनुसार फोहर पठाउने तयारी गरिरहे पनि ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोध कायमै रहेको वडा अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए। उनका अनुसार हिजो विरोध प्रदर्शनका क्रममा पक्राउ परेका एक जनाको रिहाइ र अस्ति घाइते भएका एक जनाको उपचारको खर्च सरकारले बेहोर्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले अवरोध कायमै राखेका छन् । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुने वडा अध्यक्ष तामाङले बताए।
हिजो, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved