काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दललाई समानुपातिक समावेशी प्रतिनिधित्व हुने गरी तथा आवश्यक कागजातसमेत संलग्न गरी पेश निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै असोज २ गते वा ३ गते उम्मेदवारको बन्दसूची पेस गर्दा ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भएको प्रकृया पूरा गरी बन्द सूची पेस गर्न निर्देशन दिएको हो । ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भएबमोजिमको विधि, प्रकृया पूरा नभएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएको अवस्थामा बुझाइएको बन्दसूची दर्ता नहुने पनि आयोगले स्पष्ट पारेको छ ।
त्यसैले यस विषयतर्फ सजग भई उम्मेदवारको बन्दसूची तयार गरी चेक लिष्टसमेत संलग्न राखी पेश गर्न समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने सबै राजनीतिक दललाई आयोगले आग्रह गरेको हो ।
राजनीतिक दलले पेश गरेको बन्दसूचीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतबाट छानविन भई राजनीतिक दललाई बन्दसूची सच्याउन असोज ४ गतेदेखि असोज ९ गतेसम्ममा सच्याउनुपर्ने विषय खुलाई सूचित गरिने समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यसरी मुख्य निर्वाचन अधिकृतबाट बन्दसूचीमा सच्याउन उल्लेख भएका विषयमा सीमित रही असोज १० गतेदेखि १६ गतेसम्ममा सम्बन्धित राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्नुपर्ने छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनकाका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । उक्त कार्यक्रम बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने मिति असोज २ गतेदेखि असोज ३ गतेसम्म तोकिएको छ ।
यस्तै उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकता अनुसार सच्याउन दललाई सूचित गर्ने मिति असोज ४ गतेदेखि असोज ९ गतेसम्म र त्यसै बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने मिति असाजे १० गतेदेखि १६ गतेसम्मका लागि तोकिएको छ ।
राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्दा पूरा गर्नुपर्ने विधि तथा संलग्न गर्नुपर्ने कागजातको सम्बन्धमा तयार गरिएको चेक लिष्ट आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved