काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाएका छन् । आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उनले विश्वासकाे मत पाएका हुन् ।
मतदानमा प्रधानमन्त्री प्रचण्डकाे पक्षमा दुई सय ६८ मत खसेकाे हाे । त्यस्तै उनकाे विपक्षमा दुई मत खसेकाे छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।
दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बनेका छन् ।
आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राखेका छन् । फरक मत राखे पनि पार्टीले जारी गरेको 'ह्विप' का कारण उनिहरूले प्रचण्डलाई नै मत दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved