काठमाडौँ ।
लज्जावती फूललाई विनाअनुमति सबैले छोए उनी विनास्पर्श स्वतन्त्र बाँच्न चाहन्छिन् भन्दिनु तिम्रो खोक्रो समाजवादलाई गौथली मरिसकिन् लज्जावती फूलहरू अब लजाउने छैनन् - माथिका पङ्क्ति नेपाली साहित्य विधामा पहिलोपटक सुरु भएको कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’मा कवि नाथन रायनले वाचन गरे । मञ्चमा उनले यी पंक्ति वाचन गरिरहँदा केही प्रश्नहरू जन्मिएका छन् । नारीलाई इतिहास वा कथाका पानामा उच्च देखाइनु के नारी स्वतन्त्रता हो ? के स्वतन्त्रता भनेको अरूले दिएको आकाशमा निर्बाध उड्नु हो ? अरूले नदिएको आकाश खोसेर त्यो आकाशमा उड्नु पनि त स्वतन्त्रता होइन । के स्वतन्त्रता भनेको आफ्नो खुट्टामा बाँधिएको सिक्री अरूसँग साँचो माँगेर बन्धनमुक्त हुनु हो ? तर नाथन भन्छन्, 'स्वतन्त्रता भनेको त त्यो अमूल्य निधि हो, जो आफूभित्र हुन्छ र माग्नु पर्दैन कसैसँग । हो, यही कुरा हमेशा हामीहरूले बुझ्नु पर्छ ।' नाथन रायन कञ्चनपुर बासी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका उनको स्नातकसम्मको पढाइ त्यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन् । महेन्द्रनगरबाट उनी काठमाडौं आए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् । मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ । सन् २०१९–२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताउँछन् । यही बैशाख ८ गते नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो 'द पोइट आइडल' को फाइनल प्रतिस्पर्धा हुँदै छ । उक्त प्रतिस्पर्धामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन फाइनलमा पुगेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका न्याथन अहिले गृहजिल्लामा छन् । प्रतिस्पर्धाको फाइनलमा पुगेपछि उनी भोट अपिलका लागि गृहजिल्ला आइपुगेका हुन् । उनको दैनिकी अचेल भ्याइनभ्याई छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा ४ जनाबीचमा हुँदै छ । त्यसमध्ये दुईजना नेपाली छन् भने अन्य एकजना दार्जिलिङ र अर्का सिक्किमबाट छन् । फाइनल प्रतिस्पर्धामा चारै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अब्बल कविका बीचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्याथनको भने जित्ने सम्भावना प्रवल हुँदै गएको छ । उनले उक्त मञ्चको हरेक एपिसोडमा फरक फरक प्रयोग गरेका छन् जसलाई सामाजिक सञ्जालमा निकै धेरैले रुचाएका छन् । यस्तै उनी एकपटक बटम जोनमा मात्र परेका थिए । त्यसपछि भने उनको भोट निरन्तर उकालो लागेको छ । साथै समाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाका कारण पनि उनको जीत सहज हुँदै गएको देखिन्छ । पछिल्लो समय भोट अपिलिङका लागि दौडधुप गरिरहेका न्याथन आफूले आइडलको टाइटल जित्नेमा विश्वस्त रहेको बताउँछन् । साथै उनले आफ्ना समर्थक तथा सहृदयीहरूमा भोटिङका लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved