नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा 'नेपाल-ओमन क्रिकेट साँझ' आयोजना गरिएको छ। ओमनस्थित नेपाली राजदूतावासले सोमबार उक्त कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा ओमन खेलकुद मामिला मन्त्रालयका सचिव रसद अह्मद मोहम्मद अमिर अल् हिनाई प्रमुख अतिथि रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ। त्यस्तै ओमनकै परराष्ट्र मन्त्रालयको पश्चिम एसिया विभाग प्रमुख शेख हिलाल मर्हून अल् मामरी र परराष्ट्र मन्त्रालयको प्रोटोकल विभाग प्रमुख नासेर विन मोहम्मद विन खलिफा अल् बुसेइदिसमेत कार्यक्रममा उपस्थित भएका थिए।
कार्यक्रममा ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले नेपाली क्रिकेट खेलाडीको मेहनतको प्रशंसा गर्दै क्रिकेटले समग्र नेपाल र नेपालीलाई विश्वसामु चिनाउन थप भूमिका खेलेको विचार बताइन्।
नेपाली टोलीको पछिल्लो उपलब्धिको लागि बधाई दिंदै उनले एसोसियट राष्ट्रको रूपमा रहेका ओमनी र नेपाली क्रिकेटको उज्जवल भविष्यको कामना गरिन्। ओमन खेलकुद मन्त्रालयका सचिव रसद अह्मद मोहम्मद अमिर अल् हिनाईले ओमन र नेपालको क्रिकेट खेलमा सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा यस किसिमको सहकार्य अझ धेरै गरिने प्रतिवद्बता जनाए।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सम्मानका लागि नेपाली दूतावासप्रति कृतज्ञता प्रकट गरे। एसोसियट राष्ट्रहरूले कडा मेहनतसाथ आफ्नो क्षमताको प्रदर्शन गर्नु पर्ने आजको आवश्यक्ता रहेको धारणा समेत कप्तान खड्काले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved