काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे।
उनले अब फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे। उनले माओवादीबाट विगतमा छुट्टिएकाहरु एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए।
उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए। उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए।
उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए। उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरु छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन्। छिटै तपाईंहरुले समाचार सुन्नुहुनेछ। हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरु पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ। मलाई विश्वास छ, ति साथीहरु छिटै पार्टी एकतामा आउँछन्।' अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए।
उनले आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved