न्यूयोर्क।‘कसैलाई पनि पछाडि नछाडौँ, सँगसँगै कार्य गर्दै शान्तिको प्रगति स् दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोली शुरु हुँदैछ।
महासभा भोलि शुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ। उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा सम्बोधन गर्ने राष्ट्रसंघको कार्यतालिकामा उल्लेख छ।
विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन्।
यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ। खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ। यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्याउन सफल भएको विश्वकै नमुनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ।
नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ। न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्नेछ।
नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ। त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भएगरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved