काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१ औँ जन्मजयन्ती मनाइँदैछ।
स्व. भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रूपमा स्मरण गर्ने गरिन्छ। उनी सरल जीवनयापन र निष्ठाको राजनीतिका कारण लोकप्रिय छन्।
भट्टराईको जन्म १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो। उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो। नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।
२००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख बनेका थिए।
२०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए।
तर प्रधानमन्त्री भएकै वेला गराएको २०४८ को आम निर्वाचनमा भट्टराई स्वयं काठमाडौंबाट पराजित भएका थिए। त्यसपछि उनी प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए। २०५६ को आम निर्वाचनमा विजयी भएपछि उनी पुनः प्रधानमन्त्री बनेका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved