मेलम्ची खानेपानीले बबरमहल क्षेत्र डुवान

  • फागुन १, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने अभियान चलाइरहेको प्राधिकरणले त्यस कामलाई बबरमहल क्षेत्रमा तीव्र बनाएको थियो ।

बुधबार पनि त्यही कामका लागि प्राविधिकहरू खटिएका थिए । ड्रिलिङ मेशिनले प्वाँल पार्ने क्रममा जमिनमुनि केही विष्फोट भए जस्तो आवाज आयो । ठूलो आवाजसहितको उक्त विस्फोट अरु केही नभएर मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप पड्किएको थियो ।

सडक खन्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपमा ड्रिलिङ मेशिनले छुन पुग्दा ठूलो आवाज आयो । मेलम्ची खानेपानी आयोजनाले बबरमहल क्षेत्रमा वितरण गरिरहेकाले ठूलो शक्तिसहितको पानी पाइपमा थियो । ठूलो आवाजसहित पाइप पड्किनेबित्तिकै पानीको फोहरा सडकबाहिर निस्कियो ।


हेर्दा हेर्दै अवस्था यस्तो भयो कि बबरमहलस्थित विशेष अदालत अगाडिको सडक केहीबेरमै जलमग्न भयो । खास गरी सडकको दक्षिणतर्फ रहेको विशेष अदालत, वन कार्यालय, रेड कार्यान्यवन केन्द्रसहितमा मेलम्चीको पानीको बाढी पस्यो ।

केहीबेरमै मेलम्चीको पाइपको पानीले बाढीको रुप लिएर उर्लिँदा विशेष अदालतको भुइँतला भरियो । त्यसबेला विशेष अदालतसहित सरकारी कार्यालय चलिरहेका थिए । विशेषमा कयौँ मुद्दाको सुनुवाइ चलिरहेको थियो ।

हेर्दाहेर्दै भुइँतलामा पानी भरिएपछि विशेषका कर्मचारी फाइल र कम्प्युटरसहितका सामान जोगाउँदै माथिल्लो तलामा दौडिन थाले । बबरमहल क्षेत्रमा सुरक्षामा तैनाथ सशस्त्र र नेपाल प्रहरीको टोली बाढी छेक्ने कोशिशमा लागे । तर कहीँ कतै रोक्ने अवस्था थिएन । उल्टै बाढीले उग्र रुप लिँदा कर्मचारी र सर्वसाधारणलाई उद्धारका लागि डोरी नै टाँग्ने अवस्था आइपर्‍यो ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार सडकमुनि रहेका मेलम्ची खानेपानी आयोजनाका ५ वटा पाइपमध्ये मुख्यमै क्षति पुगेको छ । लहरै बिच्छ्याइएका पाइपमध्ये मुख्यमै प्राधिकरणको मेशिनले छुँदा पड्किएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता महानन्द जोशीले खबरहबलाई बताएअनुसार केही दिनयता उक्त क्षेत्रमा प्राधिकरण बिजुलीको तार भूमिगत गर्न सडक खनिरहेको थियो ।

‘अन्डरग्राउन्ड केबलिङको काम प्राधिकरणले अघि बढाउने क्रममा मेलम्चीको मुख्य पाइपमा क्षति भएको छ’, उनले भने, ‘त्यस क्षेत्रमा मेलम्ची खानेपानीका पाँचवटा पाइप रहेछन् । जसमा प्राधिकरणको ड्रिलिङ मेशिनले मुख्य पाइपमै छोएपछि पड्किएर पानी बाहिर निस्किएको हो।’

लहरै पाइप गाडिएकाले मेलम्ची खानेपानी आयोजनालाई कुन पाइप फुटेको ठम्याउन केही समय लाग्यो । पाँचवटा पाइपमध्ये पहिचान गर्न समय लाग्दा बाढीकै रुप लिएर बबरमहलस्थित विशेष अदालतसहितको क्षेत्र डुबानमा परेको हो ।

मुख्य पाइप फुटेपछि आवातजावतमा समस्या भएको थियो । अहिले मेलम्ची खानेपानी परियोजनाले त्यस क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved