राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त नभएसम्म आफूहरु नरोकिने बताएका छन् ।
सोमबार नेपालगन्जमा आयोजना गरिएको बृहत मोटरसाइकल र्यालीलाई संवोधन गर्दै महामन्त्री राणाले भने, हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’।
उनले विदेशीको पैसा र प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको कुरा अब स्पष्ट भइसकेको समेत बताए । देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुनुपर्ने महामन्त्री राणाले बताए ।
राजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने, ‘तपाईको छोराछोरी, नाति नातिनी, भावी सन्ततिको त कुरै छाडिदिनुुस्, देशकै भविष्य झन् झन् संकटमा पर्ने अवस्था स्पष्ट भइसक्यो, त्यसैले व्यक्ति विशेष र व्यक्तिगत विचारका लागि नभएर, देशको हित र आवश्यकताका लागि राजसंस्था अपरिहार्य बनेको हो ।’
उनले भने, ‘नेपालको हकमा हामीले जसरी राजसंस्था फ्याक्यौं, त्यसले निम्त्याएको भाँडभैलो वयान गरेर साध्य छैन । यसबारेमा तपाई हामी सबै जानकार छौं ।’
यस्तै राप्रपाका नेता दिपक सिंहले देश बर्बादीतर्फ उन्मुख भएकाले अब जनता चुप लाग्न नहुने बताए ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान व्यवस्था बदल्नु आवश्यक भएको बताए ।
राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले देशमा राजसंस्था पूनःस्थापनाको विकल्प नभएको बताए ।
नेपाल शिव सेनाका अध्यक्ष किशोर लामाले जिल्ला जिल्लाबाट तयारी सुरु गरेर निर्णायक तहमा केन्द्र घेर्ने बताए ।
राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved