१८ चैत, सोलुखुम्बु । प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित थुलुङ दूधकोशी गाउँपालिकाले विदेशबाट आएर घरमै बस्नेहरूको जानकारी गाउँपालिकामा दिनेलाई पाँच हजार रूपैंयाँ पुरस्कार दिने निर्णय गरेको छ। जनप्रतिनिधि र आफ्ना कर्मचारी परिचालन गरेर विवरण संकलन गरीरहेको गाउपालिकाले विदेशबाट आएकाहरू सम्पर्कमा नआएपछि गत साता बैठक गरेर पुरस्कार नै दिने निर्णय हो।
‘विदेशबाट आएर गाउँघरमा लुकेर बसेको कोही छ र त्यो जानकारी कसैले गाउँपालिकामा दियो भने उसलाई पाँच हजार रूपैंयाँ पुरस्कार दिने निर्णय भएको छ,’ गाउँपालिका उपप्रमुख सबिता राईले भनिन्। गाउँपालिकाले यस्तो निर्णय गरेको साता दिनमै विदेशबाट हालै आएका छ जना सम्पर्कमा आएका छन्।
‘उनिहरु आफैं गाउँपालिकाको सम्पर्कमा आएका हुन्,’ उनले भनिन, ‘पुरस्कार लिने गरी कसैले खबर गरेर होइन।’ गाउँपालिकाले गरेको निर्णयमा ‘नेपालमा कोरोनाभाइरस संक्रमण देखिएपछि गाउँपालिका क्षेत्रभित्र विभिन्न माध्यमबाट आउनेहरूको सूचना गाउँपालिकालाई उपलब्ध गराउने पहिलो व्यक्तिलाई पाँच हजार रूपैंयाँ उपलब्ध गराउने अध्यक्षस्तरको निर्णयलाई अनुमोदन गरियो’ भन्ने उल्लेख छ।
विदेशबाट आउनेहरूको संख्या अझै धेरै भएको हुनसक्ने भन्दै पत्ता लगाउन पुरस्कार दिने निर्णय गरिएको उनले बताइन्। विदेशबाट आएकाहरूलाई कोरोना भाइरस लागे र नलागेको पत्ता लगाउने तयारी भइरहेको उनले बताइन्। ‘विदेशबाट आएकाहरूलाई घरमै बस्न भनेका छौं। चिकित्सक र ल्यावका कर्मचारी आउनेवित्तिकै स्वाव परीक्षणका लागि धरानमा पठाउँछौं,’ उनले भनिन्।
जनप्रतिनिधिले प्रहरी, प्रशासन र कर्मचारीको सहयोगमा गाउँपालिकाभित्र विदेशबाट आएर कोही सम्पर्कविना बसिरहेको छ कि भन्ने निगरानी गरिरहेको पनि उनले बताइन्। दैनिक ज्यालादारी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई गाउँपालिकाले खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराउने पनि निर्णय गरेको छ।
‘मजदुरी गरी जीविकोपार्जन गर्ने घरपरिवारलाई एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खाने तेल, एक केजी नुन उपलब्ध गराउने निर्णय भएको छ,’ गाउँपालिकाले गरेको निर्णयमा भनिएको छ।
दिनेश खबरबाट साभार
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved