काठमाडौँ । राजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ फर्किनुहुने भएपछि राजावादी शाक्तिहरुले जुलुससहित स्वागतको तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको हो । यसकालागी पार्टी नेतृत्व केही दिनदेखी पार्टीका आन्तरिक कार्यक्रम छोडेर तयारीमा जुटेको थियो ।
पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको जानकारी दिए । उनले कालापानी मिडिया संगको कुराकानीमा भने काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन)बाट आउनेहरूलाई तीनकुनेमा भेला हुन आग्रह गरिएको छ ।
त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ ।
यता दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले आफ्ना कार्यकर्तालाई स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेको छन् ।
त्यसैगरी कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आफ्ना कार्यकर्तालाई राजाको स्वागतकालागी एयरपोर्ट पुग्न आग्रह गरेको छ ।
राजावादीहरुले जुलुससहित राजाको स्वागत गर्ने तयारी गरेपनि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।
गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको थियो । तर, राजावादीहरुको भनाइ अनुसार भने गृह मन्त्रालयले अनुमान गरेको भन्दा निकै नै बढी संख्यामा नागरिक स्वतस्फूर्त सडकमा आउने जानकारीमा आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved