काठमाडौँ — नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहरको रूपमा परिचित सुदूरपश्चिमको पवित्र भूमि बडीमालिकाबाट नयाँ नेपाली चलचित्र “ए मेरो हजुर ५” को छायाङ्कन हुने भएको छ। आगामी श्रावण २९ गतेदेखि यस चलचित्रको औपचारिक शुभारम्भ गरिने भएको छ।
हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।
प्रधानमन्त्री बालेन शाहले बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार–प्रसारमा विशेष जोड दिनुभएपछि यस क्षेत्रको महत्त्व र चर्चा अझ बढेको छ। यही पवित्र र मनमोहक भूमिबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको यसका निर्माता तथा निर्देशक झरना थापाले बताएकी छन्।
नेपाली प्रकृति, संस्कृति र भावनालाई चलचित्रमार्फत अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने आफ्नो प्रयास रहने उनको भनाइ छ। सामाजिक सञ्जालमार्फत यो खुसी साट्दै नायिका तथा निर्देशक थापाले सम्पूर्ण दर्शक, शुभेच्छुक र नेपाली चलचित्रप्रेमीहरूप्रति आभार व्यक्त गर्दै चलचित्रलाई सफल बनाउन उनीहरूको माया, साथ र आशीर्वादको अपेक्षा गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved