काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा संगठन विस्तार गर्ने र गोहत्या नियन्त्रणलगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
निर्वाचन आयोगमा साउन २९ गते विधिवत् दर्ता भएको यो पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आफ्नो मूल राजनीतिक सिद्धान्त आत्मसात गर्दै 'हिमाल, पहाड, तराई – एकता, स्थिरता, समुन्नति' भन्ने नारा तय गरेको छ।
बिहीवार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित बैठकले आगामी भदौ र असोज महिनाभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्न केन्द्रीय सदस्यहरूको टोली खटाउने निर्णय गरेको छ।
यसैगरी, भदौ महिनाभित्रै युवा, महिला तथा जेन जी सहितका जनवर्गीय संगठनहरू केन्द्रीय तहमा गठन गरिनेछ। राष्ट्रिय जनावर गाईको संरक्षण र सम्मानको माग गर्दै भदौ महिनामा देशव्यापी रूपमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने तथा सात वटै प्रदेशमा सुविधासम्पन्न गोशाला निर्माण गर्न राज्यलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ।
संविधान संशोधनको सन्दर्भमा हिन्दू अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न निकट भविष्यमै चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन अभियान चलाइनेछ। अनलाइन माध्यमबाट पार्टी सदस्यता लिन मिल्ने गरी भदौ महिनाभित्रै विद्युतीय प्रणाली निर्माण गर्ने र पार्टीभित्र प्रशिक्षण सञ्चालन गर्न आवश्यक सामग्री तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि पारित भएको छ।
पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा देशको राजनीतिक र सामाजिक परिवर्तनका लागि सक्रिय भएर अघि बढ्ने प्रण गरेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved