काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र बनाएको छ।
नेपाली सेनाका अनुसार विभिन्न स्थानमा अप्ठ्यारोमा परेका हालसम्म १२ जना नागरिकको उद्धार भइसकेको छ। सेनाको हेलिकप्टर प्रयोग गरी स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको सकुशल उद्धार गरिएको हो।
उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाउन नेपाली सेनाका ४ वटा र निजी विमान कम्पनीका ८ वटा गरी कुल १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्। यसैबीच, बाढीबाट घाइते तथा प्रभावित भएकाहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाली सेनाको मेडिकल टिम खटिएको छ।
सेनाले नुवाकोटको त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरी घाइतेहरूको उपचार गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन सेनाले थप टोलीहरू परिचालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved