काठमाडौँ । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले जनाएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले भने– ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोज जारी रहन्छ ।’
भोटेकोशीको बाढीका कारण क्षति पुगेका रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरुले संयुक्त खोज तथा उद्धार गरिरहेका छन् । सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाले जानकारी दिए ।
भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । आयोजना स्थल र विद्युत्तको सुरुङमा फसेका ८९८ जना मानिसहरू सम्पर्क विहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जनाएको छ । रसुवा जिल्लामा रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला बिपदबाट प्रभावित भएका छन् । नुवाकोट जिल्लामा त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा प्रभावित छन् ।
सेना सहितको संयुक्त उद्धार टोलीले अपर त्रिशूली–१ बाट ११५ मिटर भित्रबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेका थिए । २१६ मेगावाटको सो आयोजनाको टनेलभित्र पुग्दा उद्धारकर्मीले नै अक्सिजन लिनुपर्ने अवस्था रहेको सहायक रथी थापाले जानकारी दिए । उनले भने– ‘माथिल्लो त्रिशूली–१ मा हाम्रो र कोरियन उद्धारकर्मी संयुक्त रूपमा भित्र गएका थियौँ ।’
त्रिशूली–३ ए जलविद्युत आयोजनाको नुवाकोटस्थित पावर हाउसमा ४ वटा स्काभेटर र ३ वाटर पम्प प्रयोग गरेर उद्धार गरिएको सेनाले जनाएको छ । सो आयोजनाबाट सेना सहितका उद्धारकर्मीले दुई जनाको जीवित उद्धार र एक जनाको शव निकालेका थिए । पावर हाउसको ढोका भेट्न निरन्तर प्रयास गरिएको र ढोकाभित्र धेरै लेदो छिरेको कारण समस्या भएको सहायक रथी थापाले बताए । उनले भने– ‘सुरुङको १७५ मिटरमा पावर हाउस थियो, हामी १० दिनमा बल्ल भित्र छिर्न सफल भएको अवस्था हो ।’
त्रिशूली–३ बी आयोजनामा ४० जना मानिस पुरिएको आशङ्का गरिएको थियो । सो आयोजना स्थलमा सेनाका ९० जना सुरक्षाकर्मीहरूले अहिले पनि खोजी तथा उद्धार कार्य गरिरहेका छन् । त्यहाँ मेनपावर र सावेलमार्फत धेरै काम गरिएको सहायक रथी थापाले बताए । उनले भने– ‘त्यहाँ हामीले मिनी स्काभेटरको पनि प्रयोग गरेका छौँ, थ्री ए हुँदै थ्री बीको टनेलमा पुग्नेगरी काम भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved