काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो। २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३५५ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन्, जहाँ ३६३ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।
हालसम्म ४ हजार ९९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्,जसमा रसुवाका १ हजार ९६७, नुवाकोटका २ हजार ३४०, सुरक्षाकर्मी तथा कर्मचारी करिव १०० र ५ सय ८९ जना विदेशी नागरिक छन्। प्राधिकरणकाअनुसार सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ।
उद्धार कार्यमा हालसम्म १३ हजार ३९६ जनालाई सुरक्षित स्थानमा पुर्याइएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६७२ जनाको उपचार गरिएको छ, जसमध्ये २२८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३२३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ३७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन्। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५३३ जना आश्रित छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved