प्रिय प्रधानमन्त्री बालेन,
सप्तरीको राजविराजस्थित नेपाल सरकारको गजेन्द्र नारायण सिंह अस्पतालको चिसो गेटमै प्रसव पीडाले छटपटिँदै एउटी आमाले बच्चा जन्माउन विवश भएको त्यो हृदयविदारक दृश्यले सिङ्गो देशलाई मात्र होइन, मानवीयता बोकेको हरकोहीको आत्मालाई गहिरो गरी क्षत-विक्षत बनाएको छ। यो मनै रुवाउने दारुण दृश्य त्यही देशको हो, जहाँको बागडोर तपाईंको हातमा छ; अनि यो घटना त्यही मधेसको हो, जहाँका जनताको प्रतिनिधित्व गर्दै तपाईं सत्ताको सर्वोच्च शिखरमा हुनुहुन्छ।
सुत्केरी व्यथा केवल एउटा शारीरिक अवस्था मात्र होइन, यो त जिन्दगी र मृत्युको दोसाँधमा उभिएर एउटा नयाँ जीवनलाई जन्म दिने अत्यन्तै संवेदनशील र जटिल घडी हो। हाम्रै देशमा विकट र दुर्गम गाउँहरूबाट राज्यकै ठूलो धनराशि खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित सुत्केरी गराउने प्रणाली चलाइएको छ। सरकारी स्वास्थ्य संस्थामा सुरक्षित जन्म गराए उल्टै प्रोत्साहन भत्ता दिने कानुनी र सामाजिक सुरक्षाको नीति छ। तर, आज राजधानीभन्दा टाढाको एउटा सरकारी अस्पतालमा एउटी गरिब र असहाय आमालाई केवल 'पैसा बुझाउन नसकेकै' आधारमा ढोकाबाटै लखेटिनु कस्तो किसिमको राज्य व्यवस्था हो?
इमर्जेन्सी सेवाको पहिलो धर्म र मर्म नै बिरामीको ज्यान बचाउनु हो, बिलिङ र कागजी प्रक्रिया त पछि आउने कुरा हुन्। तर, राजविराजमा मानवता, चिकित्सा नैतिकता र कानुन सबैको धज्जी उडाइयो। प्रसव पीडाले चिच्याउँदै अस्पताल पुगेकी ती महिलालाई भर्ना लिनुको साटो बाहिर धपाइँदा र उनले अस्पतालको गेटैमा धुलोमाथि बच्चा जन्माउन बाध्य हुँदा ती आमाको मनमा राज्यप्रति कति घृणा पलायो होला?
प्रिय बालेन, अस्पतालको संघारबाट लखेटिएर चीत्कार गरिरहेकी ती असहाय आमाले भोगेको प्रसव पीडा र तपाईंको धर्मपत्नी सबिनाले भोगेको पीडामा के फरक छ? कुनै समय आफ्नी श्रीमतीलाई अस्पताल लैजाँदै गर्दा गाडी रोकियो भनेर आवेगमै भए पनि "सिंहदरबार जलाइदिन्छु" सम्म भन्न सक्ने तपाईं, आज स्वयं सिंहदरबारकै कुर्सी र नेतृत्वमा हुनुहुन्छ। आफ्नी श्रीमतीको सहजता र सुरक्षाका लागि त्यो हदसम्मको आक्रोश पोख्न सक्ने तपाईंको देशमा, आज ती गरिब र पहुँचविहीन आमाका लागि कसले बोलिदिने? कसले सुनिदिने उनीहरूको चीत्कार? आफ्नी श्रीमतीको सुरक्षा महत्त्वपूर्ण हुने तर ती सुत्केरी आमाले भने पैसा नभएकै कारण हस्पिटलको गेट र धुलोमा सन्तान जन्माउनुपर्ने? के यो राज्यमा नागरिकको ज्यान, कोख र सन्तानको मोल पहुँच, हैसियत र खल्तीको पैसाले तय गर्ने हो? यदि एउटी सामान्य आमाले सरकारी अस्पतालको गेटमै सन्तान जन्माउनुपर्छ भने यो नागरिकका लागि राज्य हुनुको अर्थ के रह्यो र?
हामीलाई स्पष्ट जवाफ चाहिन्छ— हिजो त्यो अस्पतालमा आखिर भएको के हो? पैसाको नाममा एउटी आमा र नवजात शिशुको ज्यानसँग खेलबाड गर्ने, मानवीयता र कानुनी व्यवस्थालाई लत्याउने जो-कोही कर्मचारी वा चिकित्सक भए पनि उनीहरूमाथि तत्काल, निष्पक्ष र कडाभन्दा कडा कारबाही हुनुपर्छ।
सत्ताको नेतृत्वमा बसेर कालो चश्माले देश हेर्ने कि नागरिकको आँसु र चीत्कार सुन्ने? निर्णय तपाईंको हातमा छ।
-तपाईँको शुभचिन्तक तथा सञ्चारकर्मी
राधिका जोशी 'अनुपमा'
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved