नुवाकोट । यही भदौ १० गते तादी खोलामा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित पुल बगाएपछि टुटेको सडक सम्पर्कलाई नेपाली सेनाले पाँच दिनभित्रै पुनः जोडेको छ।
दुई नगरपालिकाका साथै नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ मानिएको उक्त पुल बगेपछि सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए। जनताको पीडालाई सम्बोधन गर्न सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको थियो। नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटका ५५ जना प्राविधिकहरूले दिनरात खटेर ७२ घण्टे खुद कार्यअवधिमै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज निर्माण सम्पन्न गरेका हुन्।
बिहीबार बेलुकादेखि पुलमा सबै खाले सवारीसाधन सञ्चालनमा आइसकेका छन्। पुल बनेपछि बाढी प्रभावित स्थानीयहरूले ठूलो राहतको महसुस गरेका छन्। बेलकोटगढी–८ जिलिङका सौगात पुडासैनी भन्छन्, "बाढीले मन छियाछिया पारेको थियो, तर सेनाले छोटो समयमै पुल बनाएपछि राहत मिलेको छ। पहिले घुमाउरो बाटोबाट घर पुग्न २-३ घण्टा लाग्थ्यो, अहिले २५ मिनेटमै पुगिन्छ।" त्यस्तै ढुङगानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि जीवनयापन सहज भएको र आशा पलाएको बताए।
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार भदौ २० गतेदेखि सुरु भएको निर्माण कार्य दिनरात नभनी ७२ घण्टाको कार्यअवधिभित्रै पूरा गरिएको हो। गजुरीमा भण्डारण गरी राखिएको रणनीतिक जगेडा पुल ल्याएर तादी खोलामा फिटिङ गरिएको बाहिनीपति जगदीश खड्काले जानकारी दिए। प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकी प्रविधिमा आधारित यो एक्रोब्रिज गुणस्तरीय हुनुका साथै यसको भारवहन क्षमता ६० टन रहेको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नेपाली सेनाको अथक प्रयासले पृथ्वी राजमार्गसँग टुटेको सम्पर्क पुनः जोडिएको भन्दै खुसी व्यक्त गरे। साथै, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझाले रातोमाटे खण्डको सामान्य मर्मतसम्भार पनि द्रुत गतिमा भइरहेको र छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved