केएमसीमा पाँच दिनकी नवजात शिशुको सफल शल्यक्रिया, निकालियो ६५० ग्रामको ट्युमर

  • भदौ २६, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । ​काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जन्मिएको पाँच दिनमै नवजात शिशुको सफल शल्यक्रिया गरिएको छ।

जन्मिएपछि ढाडको तल्लो भागमा अस्वाभाविक मासुको डल्लो देखिएपछि अस्पताल भर्ना भएकी शिशुको शरीरभित्र ठूलो आकारमा रहेको ६५० ग्राम तौलको ट्युमर शल्यक्रियामार्फत निकालिएको हो। ​काठमाडौं गैरीगाउँका हेम र सुनीता श्रेष्ठकी छोरीमा जन्मिएलगत्तै दिसा गर्ने स्थानभन्दा केही माथि अस्वाभाविक मासुको डल्लो देखिएको थियो।

गर्भावस्थामा यस्तो समस्या रहेको परिवारलाई जानकारी थिएन। डल्लो देखिएपछि केएमसीका बालरोग विशेषज्ञ डा. आशीषलाल श्रेष्ठ नेतृत्वको टोलीले शिशुको तत्काल परीक्षण गरेको थियो। ​स्क्यान गर्दा बाहिरबाट देखिएकोभन्दा ट्युमर निकै ठूलो रहेको पत्ता लागेपछि थप परीक्षण गरिएको थियो। परीक्षणबाट शिशुमा साक्रोकोक्सिजियल टेराटोमा रहेको पुष्टि भएको डा. श्रेष्ठले बताए। ​चिकित्सकका अनुसार साक्रोकोक्सिजियल टेराटोमा नवजात शिशुमा जन्मजात रूपमा देखिन सक्ने ट्युमर हो। यसको अवस्थाका आधारमा चार प्रकार हुन्छन्। पहिलो प्रकारमा ट्युमरको अधिकांश भाग शरीरबाहिर र थोरै भाग शरीरभित्र हुन्छ भने चौथो प्रकारमा ट्युमरको अधिकांश भाग शरीरभित्र रहने गर्छ। ​शिशुमा चौथो प्रकारको टेराटोमा देखिएको थियो।

ट्युमर शरीरभित्र ठूलो आकारमा रहेकाले धेरै समय पर्खनु जोखिमपूर्ण हुने चिकित्सकहरूको निष्कर्ष थियो। ट्युमर बढ्दै जाँदा आसपासका अंगमा असर पुग्न सक्ने र समयमै उपचार नभए क्यान्सरजन्य परिवर्तनको जोखिमसमेत बढ्न सक्ने भएकाले जन्मिएको पाँचौं दिनमै शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। ​नवजात शिशुको शरीरभित्र रहेको ठूलो ट्युमर निकाल्नु चिकित्सकका लागि चुनौतीपूर्ण थियो। शल्यक्रियाका क्रममा आसपासका नसामा चोट पुग्न सक्ने जोखिमसँगै नवजात शिशुमा संक्रमणको जोखिमसमेत उच्च हुने चिकित्सकले बताएका छन्। तर चिकित्सक तथा स्वास्थ्यकर्मीको सावधानीपूर्ण व्यवस्थापनका कारण शल्यक्रिया सफल भएको हो। ​

शिशु जन्मिँदा करिब २ किलो ५०० ग्राम तौलकी थिइन्। शल्यक्रियाका क्रममा उनको शरीरबाट ६५० ग्राम तौलको ट्युमर निकालिएको डा. श्रेष्ठले बताए। ​शल्यक्रियापछि शिशुको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ। कुनै जटिलता नदेखिएपछि उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो। डा. श्रेष्ठका अनुसार शल्यक्रियापछि पुनः यस्तो समस्या देखिने सम्भावना न्यून रहेको छ। ​छोरीको शरीरमा ठूलो ट्युमर देखिएपछि सुरुमा निकै चिन्तित बनेका हेम र सुनीता श्रेष्ठ अहिले भने खुसी छन्।

स्वस्थ अवस्थामा छोरीलाई घर लैजान पाउँदा उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा केएमसी परिवारप्रति आभार व्यक्त गरेका छन्। ​जन्मिएको पाँचौं दिनमै भएको सफल शल्यक्रियापछि नवजात शिशु अहिले स्वस्थ अवस्थामा आमाबुबाको काखमा फर्किएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
३ वर्षीया बालिकाको अ ...

काठमाडौँ । तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोग्र ...

पाँच दिनमै नेपाली से ...

​नुवाकोट । यही भदौ १० गते तादी खोलामा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने ...

देशभर मनसुनी वायुको ...

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यू ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved