काठमाडौँ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ १९:०० बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह कतारको दोहा हुँदै न्युयोर्कतर्फ लाग्नुभएको हो। कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ। दोहामा अल्पविश्रामपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कका लागि प्रस्थान गर्नुहुनेछ।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत उच्च अधिकारीहरूले स्वागत गर्नुहुनेछ। सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्नुहुनेछ, जहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि कार्यवाहक राजदूत र न्युयोर्कस्थित महावाणिज्यदूतले भ्रमणका विषयमा ब्रिफिङ गर्नुहुनेछ।
ब्रिफिङलगत्तै उहाँको सम्मानमा स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने विशेष समारोहमा प्रधानमन्त्री सरिक हुनुहुनेछ। भ्रमणको मुख्य तालिका अनुसार असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तालगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।
न्युयोर्कका कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) दोहाका लागि प्रस्थान गर्नुहुनेछ, जहाँ उहाँलाई कार्यवाहक राजदूत तथा अधिकारीहरूले स्वागत एवं बिदाइ गर्नेछन्। प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँ फर्किने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved