काठमाडौँ। भारतमा रहेको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि जारी लगातारको वर्षा थामिए पनि मनसुनी वायु र पश्चिमी वायुको प्रभावका कारण धेरथोर वर्षाको क्रम भने जारी नै रहने भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो तथा साँझको समयमा काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उपत्यकामा आज 'आइसोलेटेड' अर्थात् खण्डित वर्षा हुनेछ; जसको अर्थ उपत्यकाभित्रै पनि सबै ठाउँमा एकनासको पानी नपरी कुनै स्थानमा अलि बढी, कुनै स्थानमा कम वा कतै वर्षा नै नहुने हुनसक्छ।
वर्षा हुनुअघि काठमाडौँको आकाशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
अन्य प्रदेश र भू-भागको मौसमी अवस्था:
हालको स्थिति: कर्णाली, सुदूरपश्चिम तथा अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने पहाडी भेगमा आंशिक बदली छ। तराईका धेरैजसो स्थानमा भने मौसम मुख्यतया सफा रहेको छ। अहिले लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम: देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
तराई क्षेत्र: सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव कायमै छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved