बहालवाला आईजीपी हटाउने बालेन सरकारको निर्णय: ३० वर्षअघिको 'खरेल प्रकरण'को पुनरावृत्ति

  • कार्तिक १८, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको पछिल्लो निर्णयले तीन दशकअघि प्रहरी प्रशासनमा भएको उथलपुथललाई पुनः स्मरण गराएको छ।

​बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि २०५३ सालको राजनीतिक तथा प्रशासनिक तरङ्ग दोहोरिएको हो। मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा स्थानान्तरण गरी अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआईजी केसीलाई प्रहरीको कमान्ड सुम्पिने निर्णय भएको जानकारी दिए।

​निर्वाचनका क्रममा म्यादी प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै प्रश्न उठेका कारण सरकार र प्रहरी नेतृत्वबीच लामो समयदेखि विवाद सिर्जना हुँदै आएको थियो। सरकारको यो निर्णयले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लााहकारको जिम्मेवारी दिएको जस्तो देखिए पनि व्यावहारिक रूपमा भने कारबाही गरिएको प्रस्ट देखिन्छ।

​२०५३ को चर्चित 'अच्युतकृष्ण खरेल प्रकरण' र सर्वोच्चको नजिर

​बहालवाला प्रहरी प्रमुखलाई कार्यकाल नसकिँदै हटाएर नयाँ नेतृत्व ल्याउने यो कदमले २०५३ सालको बहुचर्चित घटनालाई चर्चामा ल्याएको छ। तत्कालीन गृहमन्त्री वामदेव गौतमले २०५३ चैत २२ गते बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई महानिरीक्षक नियुक्त गरेका थिए। ​नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग फरक-फरक ऐन र कानुनी व्यवस्थाअन्तर्गत सञ्चालित सेवा भए पनि खरेललाई जबरजस्ती सरुवा गरिएपछि त्यतिबेला ठूलो कानुनी र राजनीतिक विवाद खडा भएको थियो।

पूर्वआईजीपी खरेलले आफ्नो आत्मकथामा स्मरण गर्दै लेखेका छन्, “म बिहानै पशुपति, गुह्येश्वरी दर्शन गरेर घर फर्किने बित्तिकै सरुवाको खबर आयो। मन्त्रिपरिषद्मा विरोध भएपछि गृहमन्त्री वामदेव गौतमले मध्यरातमा आकस्मिक बैठक राखेर निर्णय गराउनुभएको रहेछ।” ​

त्यतिबेला चौतर्फी विरोधपछि परेको रिटमा सर्वोच्च अदालतले २०५५ असार १९ गते ऐतिहासिक फैसला सुनाएको थियो। अदालतले स्पष्ट पार्दै भनेको थियो: ​

"कानुनबमोजिम बहाल रहेका योग्य व्यक्तिलाई हटाई अन्यत्र नियुक्त गर्नु कानुनसम्मत देखिँदैन। सरकारका कार्य विवेक र कानुनको सीमाभित्र हुनुपर्छ; हचुवा, मनोमानी र राजनीतिक उद्देश्यपूर्तिको लागि गरिएको निर्णय बदरभागी हुन्छ।" ​

करिब ३० वर्षपछि फेरि बहालवाला आईजीपीलाई जिम्मेवारीबाट अलग गरी नयाँ नेतृत्व चयन गर्ने सरकारको निर्णयले सोही कानुनी नजिर र प्रशासनिक विवादलाई पुनः सतहमा ल्याइदिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गृहसचिवले दर्ज्यानी ...

​काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले द ...

​'पाँच पाण्डव' चलचित ...

काठमाडौँ । 'हिन्दू सम्राट नेपाल' केन्द्रीय कार्यालयले हाल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'प ...

बैंकिङ कसुरमा पूर्वम ...

काठमाडौँ: बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया बैंकिङ कसुर तथा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved