Breaking News

सांसद महताद्वारा कञ्चनपुर–३ मा जग्गा नापजाँच तीव्र, भीमदत्तमा पनि सुरु

  • मंसिर ३, २०८३
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्रसिंह महताले आफ्नो निर्वाचन क्षेत्रमा वर्षौंदेखि समाधान हुन नसकेको जग्गासम्बन्धी समस्या निराकरणका लागि नापजाँच कार्यलाई तीव्रता दिएका छन्। तीन दिनअघि दोधारा चाँदनी नगरपालिकाबाट सुरु गरिएको नापजाँच बिहीबारदेखि भीमदत्त नगरपालिकामा पनि अघि बढाइएको छ। भीमदत्त नगरपालिका–१० को श्रीलंका टोलबाट जग्गा नापजाँच सुरु गरिएको हो। यसअघि भीमदत्त नगरपालिका–९ मा पनि नापजाँच कार्य सुरु भइसकेको छ। कञ्चनपुरका स्थानीय तहहरूमध्ये भीमदत्त नगरपालिकामा जग्गासम्बन्धी समस्या समाधानको काम सबैभन्दा सुस्त रहेको बताइन्छ। सांसद महताको निर्वाचन क्षेत्रमा दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्दछन्। यसअघि मंगलबार सांसद महता दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबर पुगेपछि त्यहाँ जग्गा नापजाँच कार्य सुरु भएको थियो। उक्त अवसरमा उनले वर्षौंदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो महत्वपूर्ण र सुखद सुरुवात भएको बताएका थिए। उनले जग्गासम्बन्धी समस्या समाधानको प्रक्रियालाई व्यवस्थित र शीघ्र रूपमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए। २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा सांसद महताले जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता कार्यान्वयनका लागि केही दिनअघि उनले जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग छलफलसमेत गरेका थिए। यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री प्रतिभा रावल पनि केही महिनाअघि दोधारा चाँदनी पुगेर भूमि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा ३६ परिवारको बसोबास छ। जोगबुडा र महाकाली नदीको किनारमा रहेको उक्त बस्तीमा २०२२ सालदेखि मानिसहरू बसोबास गर्दै आएका छन्। हालसम्म स्थानीयले ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्। नदी किनारमा रहेको बस्तीका बासिन्दा वर्षायाममा बाढीको जोखिमसमेत भोग्दै आएका छन्। दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्षले वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयका लागि जग्गाको पुर्जा वितरण प्रक्रिया अघि बढ्नु सुखद विषय भएको बताए। सांसद महताले कुतियाकबरबाटै स्थानीयलाई जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गरिएको बताउँदै लालपुर्जा वितरणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। ‘जनतालाई भूमि अधिकारसहित लालपुर्जा शीघ्र वितरण गर्ने विषयमा ढिलासुस्ती गर्ने छुट छैन। फिल्डमा काम गर्ने क्रममा कुनै समस्या आए हामीलाई जानकारी गराउनुहोस्। सम्बन्धित निकायमा प्रस्ताव अघि सारेर तत्काल समाधानको पहल गर्छौँ,’ उनले भने, ‘जनतालाई अब जसरी पनि दुःखमुक्त गर्नुपर्छ।’ कुतियाकबरमा यसअघि २०७४ सालमा पनि जग्गा नापजाँच गरिएको थियो। अहिले पुनः नापजाँच सुरु गरिएको हो। उक्त बस्तीका सबै फाइलहरू व्यवस्थित रूपमा रहेका छन्। दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ४, ६ र ७ मा भने हालसम्म नापी कार्य सुरु हुन सकेको छैन। विगतका भूमि आयोगहरूले वितरण गरेका केही सेतो पुर्जालाई यसअघि रातो पुर्जामा रूपान्तरण गरी वितरणसमेत गरिएको थियो। दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख सुरेन्द्रचन्द्र ओझाका अनुसार पहिलो चरणमा बस्तीमा भोगचलन भइरहेको सम्पूर्ण जमिनको बिन्दु पहिचान गरिनेछ। त्यसपछि फाराम तथा भोगचलनसम्बन्धी विवरणका आधारमा व्यक्तिपिच्छे जग्गाको नापजाँच गरिनेछ। उनले यसपटक बस्तीस्तरमा नापजाँच सम्पन्न भएपछि जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाइने जानकारी दिए। रास्वपा नेतृत्वको सरकारले सार्वजनिक गरेको एक सय दिने कार्यसूचीमा पनि भूमिसम्बन्धी समस्या समाधानलाई समावेश गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
" थ्रीलिङ म्याचमा चि ...

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान ...

​पत्रकारितामा कृत्रि ...

ललितपुर । पत्रकारिता क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को लहर बढेसँगै यसको व्यावहारिक र प्रभावकारी प ...

गृहसचिवले दर्ज्यानी ...

​काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved